जुम्ला । तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्याफ्टिङ सुरु गरिएको छ । साउनको दोस्रो सातादेखि तिलामा र्याफ्टिङ सुरु भएपछि र्याफ्टिङ गर्न जानेको संख्या बढ्दै गएको छ । रारा जाने मौसम सुरु भएकाले तिलामा पर्यटन प्रवर्द्धनका लागि र्याफ्टिङ सुरु गरिएको हो ।
अहिले नदीमा लामो तथा छोटो दूरीको प्याकेज बनाएर र्र्याफ्टिङ चलेको छ । जसका लागि दुईवटा र्याफ्टिङ ल्याइएको गो कर्णाली टुर एन्ड ट्राभल्सले जनाएको छ । यो सिजनमा नदीमा र्याफ्टिङ चलाउन उपयुक्त रहेको ट्राभल्सका सञ्चालक ललित महतले बताए ।
उनका अनुसार एक पटकमा ७ जनाले र्याफ्टिङ चढ्ने व्यवस्था मिलाइएको छ । भने सबै यात्रुलाई सुरक्षाका साधन प्रयोग गरी र्याफ्टिङ सञ्चालन भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने र साहसिक तथा जलपर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत वर्षदेखि तिलामा र्याफ्टिङ सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण यो सेवा प्रभावकारी बन्न सकेको छैन ।
अन्य नदीहरूमा सुक्खा सिजनमा र्याफ्टिङ हुने गरेको भए पनि तिलामा हरियाली सिजनमा पनि र्याफ्टिङमा रमाउन पाइएको स्थानीयवासी तथा आन्तरिक पर्यटकको भनाइ छ । छोटो प्याकेजअन्तर्गत नदीको दानसाघुदेखि श्रीढुस्कासम्म र्याफ्टिङ चल्छ । यो प्याकेजमा प्रतिव्यक्ति एक हजार रुपैयाँ लिइने गरिएको सञ्चालक महतले बताए ।
उनका अनुसार लामो प्याकेजअन्तर्गत दानसाँघुदेखि रांकासम्मको दूरी तोकिएको छ । लामो दूरीको यात्रा गर्न प्रतिव्यक्ति दुई हजार रुपैयाँ भाडा तोकिएको उनले जानकारी दिए । र्याफ्टिङ रिभर गाइडका लागि जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले जिम्मेवारी पाएका छन् । बिर्खसँग भारतमा २५ वर्षभन्दा बढी र्याफ्टिङ चलाएको अनुभव छ ।
अहिले आफ्नो जिल्लामा रोजगारी मिल्दा निकै खुसी लागेको उनले बताए । उनका अनुसार र्याफ्टिङ गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्था गरिएको छ । पर्यटकको रोजाइअनुसार मार्सी चामलको भात र तिलाको असला माछा खुवाउने व्यवस्था छ । र्याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सीधान, स्याउ बगैंचालगायत सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।