सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।
कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घटेको उनको भनाइ छ।
तीन महिनामा १४ हजार ३१९ क्विन्टल ताजा तरकारी जिल्लाबाहिर निकासी भएको सचिव शर्माले जानकारी दिए। कपुरकोटका अन्य २८ सहायक संकलन केन्द्रबाट पनि तरकारी निकासी भइरहेको उनले बताए। कपुरकोट बेमौसमी तरकारी खेतीका लागि नेपालकै दोस्रो क्षेत्रका रुपमा परिचित छ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार सल्यानको तीन हजार २०२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आइरहेको छ। जसबाट ३९ लाख ४ सय ७५ मेट्रिक टन तरकारी उत्पादन हुन्छ।