जुम्लाको चन्दननाथ नगरपालिका भित्रका १ सय ६९ विपन्न बालबालिकालाई राहत उपलब्ध गरिएको छ । अनाथ,असाहय र विपन्न बालबालिकालाई राहत दिएको चन्दननाथ नगरापालिकाले जनाएको छ । बालबालिकालाई राहत वितरण कार्य यही असार २४ गते देखि प्रारम्भ भएको थियो । नगर उपप्रमुख तथा राहत समितिका संयोजक अप्सरादेवी न्यौपानेले विपन्न बालबालिकालाई राहत प्रदान गर्नु निकै राम्रो कार्य भएको बताइन् ।
चन्दननाथ नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा सञ्चालित बाल सरंक्षण कार्यक्रम अन्तरगत महिला तथा बालबालिका शाखाले दश वटै वडाका विपन्न, असाहय, अनाथ बालबालिकालाई राहत प्रदान गरेको हो ।
सम्बन्धित वडाको सिफारिस अनुसार प्रति बालबालिकालाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महिला तथा बालबालिका शाखा संयोजक पुष्पा थापाले बताइन् । एक नम्बर वडामा २१,दुईमा ९,तिनका २०, चारका १४, पाँचमा १६, छ मा २५, सातका १८, आठका १४, नौका १४ र दस नम्बर वडाका १८ जना अनाथ,असाहय र विपन्न बालबालिकाले राहत पाएको संयोजक थापाले बताइन् ।
१ सय ६९ जना बालबालिकाले ४ लाख २२ हजार ५ सय रुपैयाँ पाएको उनले जानकारी दिइन् । माया सदनमा आश्रय लिएका बालबालिकालाई राहत उपलब्ध गराइएको हो ।
आर्थिक अवस्था कम्जोर भएका बालबालिकाले स्थानीय तहको सहयोगले राहत मिलेको महसुस गरेका छन । राहत समितिको बैठकको निर्णय अनुसार राहत दिइएको हो । संयोजक थापाले कारोना महामारी र विपदबाट प्रभावित भएका बालबालिकाको उद्वार भएको बताइन । नगर उपप्रमुख अप्सरा न्यौपाने महतले नगरपालिकाले राम्रो काम गरेको बताउँछिन् ।कार्यक्रममा बालअधिकार समितिका संयोजक, नगरस्तरीय बाल संरक्षण समितिका पदाधिकारी,कोभिडबाट संरक्षण र सहायता समितिका पदाधिकारी वडा अध्यक्ष र पत्रकारहरुको सहभागीता रहेको थियो ।