हिमा गाउँपालिका ६ पातारखोला गाउँकी किट्टी दमाइ महिला स्वास्थ्य स्वयमसेविका हुन । उनी स्वास्थ्य स्वयमसेविकामा काम गर्न थालेका दशक नाघिसकेको छ । गाउँबस्तीमा पुगेर गर्भवती,सुत्केरी, नवजात शिशु, बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उनको दिनचर्या नै हो ।
उनले भनिन्,‘ग्रामिण क्षेत्रको स्वास्थ्य महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मेवारीमा छ । हामी नै स्वास्थ्यकर्मी हौँ । महिला स्वयमसेविका हौँ । दुर्गम बस्तीका लागि हामी नै डक्टर । ’स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्दैनन् । स्वास्थ्यचौकीमा डक्टरी दरबन्दी हुदैन्,किट्टीले भनिन्,‘ग्रामिण स्वास्थ्यको पुर्ण जिम्मेवारी नै हामी हौँ । स्वास्थ्य क्षेत्रको आधारका रुपमा महिला स्वास्थ्य स्वयमसेविकालाई लिइदै आएपनि सेवासुविधा दिन सरकारले कन्ज्युस्याइँ गरिरहेको छ । ’
कलिलो उमेरमै स्वास्थ्य स्वयमसेविका बनेकी उनी गर्भवती महिलाले स्वास्थ्यको हेरचाह कसरी गर्ने ? बालबालिकालाई विभिन्न रोगबाट बचाउन के गर्ने ?भन्ने बिषयमा समुदायस्तरमा परिचालन हुने गरेको बताउँछिन । उनले महिला स्वास्थ्य स्वयमसेविकामा काम गर्न थालेका १२ बर्ष बितेको छ । गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन् ।
महावैपातरखोलाकी कल्पना शाही गाउँमा स्वास्थ्य सचेतना फैलाउदै आएकी छिन । उनी पनि महिला स्वास्थ्य स्वयमसेविका हुन । समुदाय स्तरमा परिवार नियोजन,सुरक्षित मातृत्व,स्वास्थ्य सरसफाई, सरुवा रोगको रोकथाम तथा नियन्त्रण,स्वास्थ्य शिक्षा र खोप सेवा दिदै आएकी छिन् ।
गाउँमा कुन रोग फैलिएको छ । त्यो रोगको उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा पहिले नै थाहा हुने गरेको उनी बताउँछिन । दुइ दशक स्वयमसेविकामा काम गरेकी उनी बिरामीलाई रोग अनुसारको औषधि उपलब्ध गराउन सक्ने भइसकेकी छिन् । उनले भनिन्,‘महिला महिला स्वास्थ्य स्वयमसेविका सचेतना मात्र छदैनौँ । प्राथमिक उपचारमा पनि खटिदै आएका छौँ । डक्टर आउन नमान्ने दुर्गम क्षेत्रका हामी डक्टर हौँ । ’
महिला स्वयमसेविका सम्झना शाही पनि परिवार नियोजन सुरक्षित मातृत्व सँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो । गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो,झाडापखाला लगायतको उपचार गर्छिन । घरैबाट जीवनजल सिटामोल लगायतको औषधी दिने गरेको उनी बताउँछिन ।
उनी प्रति गाउँको पनि पुर्ण भरोसा छ । ठुलो रोगको उपचारका लागि स्वास्थ्य चौकी र अस्तालमा जान परामर्श दिन्छौँ,उनले भनिन्,‘सानातिना रोगको गाउँमै उपचार गर्न सक्ने भइसकेकी छौँ । ’ स्वास्थ्य केन्द्रले उपलब्ध गराउने औषधि गाउँमै लिएर स्वास्थ्य स्वयमसेविकाले वितरण गर्छिन । औषधि नहुँदा आफै रुपैयाँले खरिद गरेर बिरामीलाई दिने गरेको उनीहरुको अनुभव छ । सामान्य सेवा सुविधामा परिचालित भएका स्वास्थ स्वयंसेविकाहरुले जनस्वास्थ्यमा ठुलै योगदान मात्र गरेका छैनन । गाउँघरका डाक्टर सापको रुपमा स्थापित छन ।
राष्ट्रिय स्वास्थ्य नीतिले देशको शहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका समुदायमा न्युनतम आधारभुत स्वास्थ सेवा पुगाउन २०४५ सालदेखि महिला स्वयमसेविकाको अवधारणा ल्याएको हो । महिला स्वयम सेविकाहरुले आधारभुत स्वास्थ्य सेवाहरु प्रदान गर्दै मातृमृत्युदर र बाल मृत्युदरमा कमि ल्याउन र परिवार नियोजनको सेवा पहुँचलाई बढाउन महत्वपुर्ण योगदान गरेको स्थानीय बताउँछन ।
पछिल्लो चरणमा कोभिड १९ को संक्रमणमा समुदायको स्वास्थ प्रति संवेदनशिल रहँदै महिला स्वास्थ स्वयमसेविकाले कोभिड १९ बारे सामाजिक सचेतना फैलाउने काममा आफुलाई समाहित गरेका छन ।
चौविसै घन्टा समुदायको स्वास्थमा खटिएका स्वयमसेविकाको कामको मुल्यांङकन र उचित पारीश्रमिकको व्यवस्था राज्यबाट हुन सकेको छैन । पुरस्कार, सम्मान, भ्रमणहरुमा पनि पहुँच भएकालाई मात्र समावेश गर्ने तर दुरदराजमा खटिने महिला स्वयंसेविकाहरु राज्यको नजरमा नपर्ने गरेको गुनासो उनीहरुको छ । जनस्वास्थ्यमा ठुलो भुमिका खेलिरहेका महिला स्वयंमसेविकालाई सेवा सुविधा बढाउदै उचित पारिश्रमिकको व्यवस्था गरिनु पर्ने सरोकारवालाको सुझाव छ ।