बालबालिकाको शिक्षा घरबाट सुरु हुन्छ । अभिभावकबाट उनीहरूले धेरै कुरा सिक्दछन् । त्यसैले पनि अभिभावकलाई पहिलो गुरु पनि मान्ने गरिन्छ । यस अर्थमा बालबालिकाको चरित्र विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । घरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हुने सिकाइ र विद्यालयमा हुने औपचारिक सिकाइको सन्तुलन हुन सकेमा बालबालिकाको सिक्ने ÷पढ्ने बानीको विकास हुन पुग्छ ।
बालबालिकाको लामो शैक्षिक यात्रामा यसले कोशेढुंगाको काम गर्छ । त्यसैले, यहाँ ‘असल अभिभावकको’ भूमिकाको बारेमा केही प्रस्ट पार्न खोजेको छु । बालबालिका ठूला मानिसबाट सजिलै प्रभावित हुन्छन् । यदि अभिभावक घरमा मोबाइल धेरै समयसम्म चलाउनुहुन्छ भने बालबालिका पनि त्यही सिक्न थाल्छन् । अभिभावक नराम्रो बोल्नुहुन्छ भने उनीहरू पनि त्यस्तै बोल्न थाल्छन् । तसर्थ बालबालिकाको असल आचरण विकासको लागि अभिभावक आफैंले आशातित आचरण प्रदर्शन गर्नुपर्छ ।
बालबालिकालाई गरिने सबैभन्दा ठूलो खर्च उनीहरूलाई दिइने समय हो । बालबालिकालार्ई दिइने थोरै समयले पनि उनीहरूको सर्वांगिण विकासमा महत्वपूर्ण भूमिका खेल्छ । जति नै व्यस्त भएपनि दैनिक रूपमा केही समय बालबालिकासँगै पढ्ने, उनीहरूले पढेका कुरा सोध्ने, चासो दिने, गृहकार्य गर्न सघाउने वा प्रोत्साहन गर्ने जस्ता कार्यहरू गर्नु असल अभिभावकको कर्तव्य हो । बालबालिकाको पढाइमा घरको वातावरणले पनि असर गर्छ । ठूलो स्वरमा धेरैबेरसम्म गफ गर्ने, टिभी हेर्ने बाबुआमाको बानीले बालबालिकालाई पढाइमा केन्द्रित हुन गाह्रो पर्न सक्छ ।
पढ्नको लागि शान्त र ध्यान केन्द्रित गर्न सक्ने वातावरण सिर्जना गर्नु असल अभिभावकको गुण हो । आलोचना मन नपर्ने मानवीय गुण हो । बालबालिकालाई अरूसँग तुलना गर्दै आलोचना गरियो भने उनीहरूमा नैराश्यता पैदा हुन गई गलत दिशातिर लाग्ने डर हुन्छ । बालबालिकालाई आलोचना गर्दा मनोवैज्ञानिक रूपमा असर नगर्ने गरी गरिनुपर्छ । राम्रो कामको लागि पुरस्कार दिएर प्रोत्साहन गर्ने गरिएमा बालबालिकालाई राम्रो काम गर्न ऊर्जा मिल्छ ।
अभिभावकको शिक्षक र विद्यालयसँग हुने निरन्तर सम्पर्कले बालबालिकाको एउटा असल पहरेदारको भूमिका निर्वाह गर्छ । फलस्वरूप उनीहरू कर्मपथबाट विचलित हुन पाउँदैनन् । अध्ययन अनुसन्धानले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्ने अभिभावकको बालबालिका बढी सफल भएको देखाउँछ । त्यसैले बालबालिकाको इच्छा, रुचि र समस्याको बारेमा खुलेर छलफल गर्नु असल अभिभावकत्व हो ? भन्ने मैले बुझेको छु । कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त ‘पढाइ नै हुँदैन, किन स्कुल जानू ? ’ भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।
यसो गर्दा बालबालिकाको पाठ छुट्छ र विस्तारै पढाइमा कमजोर हुन पुग्छन् । विद्यालय अविछिन्न पठाउने वातावरण सिर्जना गर्नु असल अभिभावकको कर्तव्य हो । अभिभावकको थुप्रै बानी व्यवहारले बालबालिकाको आचरण निर्माण र उनीहरूको शिक्षामा महत्वपूर्ण भूमिका खेल्छन् । अभिभावकले बालबालिकाप्रति आफ्नो दायित्व के के हुन सक्छन्, एकचोटी फरक ढंगले सोच्ने कि ? एउटा सफल अभिभावकको हैसियतले आफ्ना छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो । सफल सिकाईका लागि पहिलो शिक्षक शिक्षिका बाबुआमा र पहिलो पाठशाला घर भएतापनि बच्चाहरुको औपचारिक सिकाई शुरुवात विद्यालयबाट नै हुन्छ । यसकारण बाबुनानीहरुका समग्रतालाई ख्याल गर्दै अभिभावक र शिक्षक बीचमा बच्चाको अध्ययनका लागि सहकार्य हुन जरुरी छ ।
