कोरोना महामारीले विज्ञान र प्रविधिलाई समेत हार खुवाउँदै सिंगो मानव जातिलाई नै त्राहिमाम् बनाइरहेको छ । विज्ञानका आविष्कारहरू निरीह भएका छन् । संक्रमणको फैलावटको तीव्रता रोक्न भीमकाय प्रविधिहरू असफलप्रायः भइरहेका छन् । यो वैश्विक आतंकबाट हामी नेपाली पनि प्रताडित भइरहेका छौं । न आँखाले देख्न सकिन्छ, न बारले छेक्न सकिन्छ, न त औषधि–उपचारले नै रोक्न सकिरहिएको छ !
संसारभरका मानिस कोरोना भाइरसबाट त्रस्त छन् । करोडौं संक्रिमत भइसकेका छन् । तीमध्ये पनि विज्ञहरूको भनाइमा अहिले नेपाल उच्च जोखिममा छ । खास गरी दक्षिणपन्थी डेमागगहरूको शासन रहेका ट्रम्पकालीन अमेरिका, ब्राजिल र भारत हुँदै नेपालसम्म कोरोनाको फैलावट भयानक देखिएको छ । क्षतिको आकलन मात्रले पनि नागरिकको आङ सिरिंग हुन्छ । भलै, अमेरिकामा डोनाल्ड ट्रम्पको बिदाइपछि कोरोना ओरालो लागेको छ र नागरिकले राहतको सास फेर्न थालेका छन् ।